Tuesday, December 6, 2016

इतिहासकाे पानाबाट सिन्धुलीगढीः सागरकुमार ढकाल

तत्कालीन समयमा इस्ट इन्डिया कम्पनीले उत्तरभारतको बंगाललाई अपार साधन र श्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा टुक्रा टुक्रा भएको सानो राज्य नेपाल पनि पर्दथ्यो । अंग्रेजको कुत्सित आसयलाई बंगालका तत्कालीन शासक मिरकासिम, अवधका नवाव तथा मुगल सम्राट मिलेर करिब ६० हजार फौजीदस्तासहित यूद्घारम्भ गरे । उता कम्पनीले करिव ७०७२ को सेनाको सहयोगले २२ अक्टोबर १७६४ मा भारतको बक्सार भन्ने स्थानमा त्यो घमासान युद्घको डटेर प्रतिकार ग¥यो, अन्तत्वोगत्वा कम्पनीतर्फकै जित भयो । बक्सारको युद्घमा भएको भारतीयहरुको मोर्चाको हारले भारतको भविष्य र सार्वभौमसत्तालाई अंग्रेजको पोल्टामा राखिदियो । यो पराजयले एकातिर २०औँ शताब्दीको मध्यसम्म भारतलाई अंग्रेजको गुलाम भएर बस्नुपर्ने भाग्य यही यूद्घमा भएको हारले कोरिदियो भने अर्काेतर्फ अंग्रेजहरुमा यो विजयले मात लाग्न थाल्यो ।

यता पृथ्वीनारायण शाह नेपाल एकीकरणको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका थिए । उनले दुई शक्तिशाली राज्यहरु मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खाराज्यमा गाभेपछि निश्चय नै कान्तिपुरलाई दख्खल गर्नुपर्ने बाध्यता आइसकेको थियो । यस अवस्थामा उल्टै तत्कालिन कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिन वंगालका गभर्नरसँग फकिर रामदास र उमदा (मुसलमान ब्यापारी) लाई दूत बनाई सहयोगको याचना गरे । भारतमा बक्सारको विजयमदमा मस्त भएको अंग्रेजको आँखा स्वाभाविक रुपले बंगालनजिकैको सानो तथा प्राकृतिक स्रोतको बिपुलता भएको देश नेपालतिर गाडिन थालेको थियो । जयप्रकाश मल्लले गोर्खाविरुद्घ लडन आवश्यक पर्ने सैनिक सहयोगका लागि गरेको याचनाले इस्ट इन्डिया कम्पनीअन्तर्गत बंगालका तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टलाई ‘के खोज्छस् काना आँखो’ भनेजस्तै भयो । ह्यारीले जयप्रकाश मल्लका दुईजना दूतहरुसँग कान्तिपुरको अवस्थिति मागे ।
‘गोर्खासँग कूल पाँच हजार लडाकू सैनिकहरु छन्, जसमध्ये दुई हजारजना नेपाल खाल्डोमा छन्,’ गभर्नर ह्यारीलाई फकिर रामदास र उमदाले कान्तिपुर र गोर्खासम्बन्धी सूचना दिए, ‘पटनादेखि पनौतीसम्म ९६ कोस छ र यो ११ वटा बिसौनीमा पूरा हुन्छ ।’
यी सबै सूचना तथा फेहरिस्तपश्चात सामान्य छलफल गभर्नर ह्यारी वेरेल्स्टले सहयोगका लागि स्विकृती प्रदान गरे र कलकत्ताबाट कप्तान किनलोकको नेतृत्वमा कम्पनीतर्फका र भारतीयतर्फका गरी करिव २४०० सेनाहरु १८ कम्पनीमा विभाजित भई काठमाडौँतर्फ चल्यो ।
वास्तवमा सिन्धुलीगढीको युद्व गोर्खालीको लागि जीवन कि मरणको युद्व थियो । त्यसैले पृथ्वीनारायण शाहले यस युद्वमा चुनिएका र विश्वासी सेनानायकहरु पठाएका थिए । कीर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी बंशराज पाण्डे(कालु पाण्डेका साखै छोरा)लाई दक्षिणी मोहडातर्फको आरम्भकै दुर्ग पौवागढीमा तैनाथ गरिएका थिए । पौवागढी सिन्धुलीगढी क्षेत्रको सवैभन्दा संवेदनशील स्थानमा छ । यसैगरी सिकारी अफिसर वंशु गुरुङ्ग र खजान्ची वीरभद्र उपाध्यायमाथिको दुर्ग ठूलो गढीमा तैनाथी थिए । यस यूद्घमा गोर्खालीहरुले आफ्नो बहादुरी र साहस देखाए । किनलोक नेतृत्वको कम्पनी सेनाको नराम्रोसँग पराजय भयो । १६०० कम्पनी सेनाहरु यस यूद्घमा मारिए भने कप्तान किनलकसहित बचेका ८०० सेनाहरु रौतहटमा वसी मालपोत उठाउन थाले ।
सिन्धुलीगढीको युद्घ (क्याप्टेन किनलोकको दैनन्दिनीबाट )
नेपाल अभियान सुरु गर्नुपूर्व किनलकले पटनास्थित सेलेक्ट कमिटीलाई वि.सं. १८२४ आषाढमा एउटा विवरण पेस गरेका थिए । विवरणको शीर्षक A short account of the present situation of Napaul and distress of Jay Percass Mull the Rajah, taken from his Vakeels Muktan Unda and Faquir Ramdoss थियो । यो शीर्षकमा जयप्रकाश मल्ल, उमदा तथा फकिर रामदासको उच्चारण अलि फरक देखिन्छ । क्याप्टेन किनलकले पेस गरेको यही तथ्यलाई आधार मानेर कलकत्ताको फोर्ट विलियमस्थित तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टले स्विकृती दिएका थिए । किनलकले पेश गरेको विवरणलाई संक्षेपमा यसरी प्रस्तुत गरिएको छ ।
नेपाली दुतहरु (उमदा तथा फकिर रामदास) भन्छन्– गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुरवरिपरिका सबै साना राज्यहरुलाई जितेर अब स्वयं कान्तिपुर राज्यलाई दख्खल गर्ने सुरमा छन् ।
गोर्खालीहरुको अवरोधको कारण आफ्नो राज्यमा जनताहरुलाई आवश्यक पर्ने खाद्यान्न लत्ताकपडाहरुसमेत अहिले कान्तिपुर ल्याउन कठिन छ । त्यसैले यस समस्यापूर्ण घडीमा अंग्रेजहरुको सहयोग कान्तिपुरलाई अति आवश्यक छ ।
गोर्खालीहरुसँग कुल मिलाएर ५० हजार जति मात्र सेना छन् त्यसमध्ये ३० हजार सेनाहरु आफ्नै राज्यहरुको सुरक्षामा छन भने बाँकी २० हजार सेना लडाइँका लागि तयार छन् । हतियारको नाममा यी सेनाहरुसँग धनुष र काँण मात्र छ र अहिलेको समयमा यी सेनाहरु गोर्खाली राजाले उपलब्ध गराएको जमिनमा मकै छर्न तल्लिन छन् ।
नेपालका दुतहरु हामीलाई एक महिना वा तीन हप्ता जति लाग्ने यात्रामा जीवन दिएर पनि सहयोग गर्ने अवस्थामा छन् । मनसुनमा बाटाहरु झ्याडीहरुले थुनिन सक्छ । तर, मनसुनभन्दा पछाडि अभियान सुरु गर्ने हो भने त्यस वेलासम्म कान्तिपुर गोर्खाको हातमा गइसक्नेछ ।
गोर्खालीले एक महिनाजति अगाडि लम्जुङ र तनहुँ खोसेर लगिसकेको र यहाँबाट आउने खाद्यान्नको अभावले कान्तिपुरको ठूलो जनसंख्यालाई भोकमरिको अवस्था सृजना हुन सक्ने कुरा अवश्यम्भावी छ ।
क्याप्टेन किनलकले पटनास्थित सेलेक्ट कमिटीका अध्यक्षलाई पटनादेखि होजपुर, दरभंगा, बोवा, जनकपुर, जलाउदेवास, रानीबास, सिन्धुली, खुर्कोट, झाँगाझोली, दाप्चाहुँदै पनौतीसम्म ९१ कोस यात्रा तथा दूरी रहेको विवरण पेस गरेका थिए ।
रसद पानीसहित दूरीको विवरणसँगै किनलकले पटनादेखि जलाउदेबाससम्मको बाटो एकदम राम्रो भएको, जलाउदेबासदेखि सिन्धुलीसम्मको दूरी घना जंगलको बाटो भए पनि तोपहरु पार गराउन सकिने बाटो भएको र सिन्धुलीदेखि नेपालसम्मको बाटो एकदम राम्रो डाँडाहरु तथा ठूला नदीहरु पार गर्नु नपर्ने व्यहोरा पेस गरेका थिए । यो अन्तिम विवरणमा किनलक झुक्किएका छन् । जसले गर्दा उनको नेपाल अभियान दुःखपूर्ण किसिमले अन्त्य भएको थियो ।
यिनै विवरणहरुका आधारमा कप्तान किनलकलाई नेपाल अभियानको लागि पटनास्थित फोर्ट विलियमबाट स्विकृती प्राप्त भयो र वि.सं. १८२४ को भाद्र महिनामा किनलकले जयप्रकाश मल्लका दुई दूतहरु उमदा र फकिर रामदाससहित अंगे्रजी अफिसर्स, इन्डियन सेनाहरु (जसलाई उनीहरु ब्लाक अफिसर्स भन्थे), भरियाहरु तथा केही स्वास्नी मानिसहरुसहित करिव २४०० भन्दा बढीको संख्यामा नेपाल अभियान सुरु गरे ।
भारतीय भूमिहरुमा नेपालबाट बगेर गएका नदीहरु गण्डकी त्यसपछि दरभंगामा कमला र बाग्मती नदीहरु तर्दै किनलोकको फौज वि.सं. १८२५ भाद्र २५ गते दरभंगा आइपुग्यो । दरभंगामा किनलकलाई बाटोको लागि रसदपानीको ब्यवस्था गर्नुपर्ने थियो । सोही अनुरुप उनले दरभङ्गाको नून प्रतिनिधि (क्बति बनभलत) लियथ्यूलियरलाई भेटे । लियथ्यूलियर एक सक्षम एवं इमानदार कम्पनीका सरकारी कर्मचारी थिए । उनले अभियानका लागि आवश्यक पर्ने रसद पानीको लागि विश्वस्त रहन अनुरोध गरे । दरभंगाको पानीले केही सैनिकहरु बिरामी भए तर फकिर रामदासले चिराइतो पानी खुवाउन अनुरोध गरे । यस उपचारवाट सैनिकहरु सलामत भएकोले किनलोक फकिरसँग अझ विश्वस्त भए । दरभंगामै किनलकलाई उनको हलकाराले एउटा निरास खबर सुनायो । जनकपुर र उत्तरतिरका पहाडका बीचमा भएका मानिसहरु पहाडियाहरुको आक्रमणले हिजोआज पूर्ण रुपमा विस्थापित भएका छन् । उनीहरुले घरमा एक दाना पनि खाद्यान्न राखेका छैनन् । किनलकलाई अर्काे समस्या आइप¥यो । उनी जनकपुरमा प्रशस्त रसद पानी भरेर सिन्धुलीसम्म पुग्ने आशामा थिए । वास्तवमा यो आक्रमण गोर्खालीहरुले नै गरेका थिए । उनीहरुले अंग्रेजहरुलाई रसदपानीबाट बञ्चित गराउन यो रणनीति अपनाएका थिए ।
वि.सं. १८२४ असोज ३ गते किनलक जनकपुर आइपुगे । जनकपुरमा एउटा पेगोडा स्वरुपको मन्दिर जसको वरिपरि माटोले बनेको साना किल्लाहरु थिए । वास्तवमा यही मन्दिर नै आजको जानकी मन्दिर थियो । जनकपुरमा किनलकले त्यहाँका सर्वसाधारणहरुलाई भेटे । पाहाडियाहरु (गोर्खालीहरुको) आक्रमणबाट बचाउने कुरामा विश्वस्त गराए । उपस्थित सबैलाई सुपारी दिए । जनकपुरमा खाद्यान्न थिएन । उनले खाद्यान्नका लागि भर गरेका दानदेव चौधरीको नामनिसान त्यहाँ थिएन । किनलकले दानदेवलाई धम्कीपूर्ण पत्राचार पनि गरे । जनकपुरमै किनलकले सिन्धुलीमा गोर्खालीहरु ३०० को हाराहारीमा भएको पत्तो पाए र यो पनि थाहा पाए कि गोर्खालीपक्षका धेरै मानिसहरु जंगलभित्र र सिन्धुलीका बस्तीहरुमा छन् जो आवश्यक पर्दा तुरुन्त भिडन्तमा सरिक हुनेछन् । सिन्धुलीगढीको किल्लामा रहेका किलेदार चम्पनसिं थापाले पृथ्वीनारायण शाहलाई किनलकको जनकपुरको उपस्थितिको बारेमा खबर गरिसकेको समाचारले रात रहे अग्राख पलाउँछ भन्ने सोचले किनलकले आफ्नो एक बटालियनलाई भोलिपल्ट बिहानै सिन्धुलीतिर लाग्न आदेश दिइसकेका थिए ।
असोज ५ गते ३ बजेतिर सिन्धुलीको यात्रा सुरु भयो । बाटामा जयप्रकाश मल्लको चिठ्ठी किनलकले पाए । जतिसक्दो चाँडो अभियानलाई अगाडि बढाउनुप¥यो भन्ने आसय थियो । बाटो घना जंगलले भरिभराउ थियो । ३० फिट गोलाई भएका अजंगका रुखहरु देखेर किनलकले त्यसलाई पानीको ब्यवस्था भए भारतसम्म लान सकिने सोच पनि बाटामा बनाएका थिए । कुचकै अवसरमा एकदिनको राज किनलोकको बास रातुको दमारजस्तो ठाउँमा भएको थियो । त्यस रातको अविरल पानी तथा चट्याङले एक्कासी खोला बढेर सिपाहीहरु, खाद्यान्न तथा हातहतियारसमेत बगायो । यही बाढीले किनलकलाई समेत बगायो । तर, भाग्यबस केही फिट तल उनलाई रातुले खोलाले पाखा लगायो । बाढीको विभिषिकाले अभियानमा निकै ठूलो क्षति भयो । किनलक निकै हतास भएका थिए । यो क्षतिको परिपूर्ति गर्न कठिन देखिएकोले किनलकले नेपाल अभियानलाई त्यही रोक्ने विचार पनि गरेका थिए ।
असोज १० गते किनलोक नाइटोसम्म पुग्ने कमला नदीको भेललाई ३२ पटक तरेर सिन्धुली आइपुगे । सिन्धुलीमा त्यस वेला पनि थुप्रै घरहरु थिए । ठूलो फाँटमा धान खेती भएको थियो । किनलकले केही सेनालाई त्यही राखेर गढीतिर नै बढे । करिब एक माइल जति माथि पुगेपछि उनको भेट लेफ्टिनन्ट होगानसँग भयो । होगानले भने सिन्धुलीगढीमा शत्रुहरु अहिले कोही पनि छैनन् । हाम्रो पाँच वटालियनलाई ब्लाक अफिसरको सन्कीपनले गोर्खालीहरुले नराम्रोसँग भगाइदिए । होगान आफैँ पनि निरास भएका थिए । उनले भने सिन्धुलीगढीमा शत्रुहरु अहिले कोही पनि छैनन् । हाम्रो पाँच वटालियनलाई हाम्रो एउटा ब्लाक अफिसरको सन्कीपनले गोर्खालीहरुले नराम्रोसँग भगाइदिए । हाम्रा सेनाहरु सबै फर्केर क्याम्पमा आइपुगेका छन् । हाम्रा सेनाहरु गोर्खालीहरुको पाशुवत ब्यवहारले यति भयभित र आक्रान्त छन् कि सबै युद्घको त्यो विभिषिका सम्झने स्थितिमा छैनन् । सिन्धुलीगढीमा त्यो पाँच वटालियनसँग भएको यूद्घमा कम्पनीसेनाका विशेषगरी ब्लाक अफिसरहरु गोर्खालीको प्रतिकारमा परेका थिए । भागेर ढुंगामा लुकेका सेनाहरुलाई संगीनले घोची–घोची मारेको र भीरबाट खसेर अनन्त गहिराइमा पछारिएको दृष्यहरुले कम्पनी सेनाहरु भयभित थिए ।
यी सबै घटनालाई पुनर्मूल्यांकन गर्दै किनलकले पुनः हार्डीलगायत अरु साहसी सेनाहरुलाई सिन्धुलीगढीमा पुनः आक्रमण गर्न तीनतिरबाट खटाए । ढनमनातिरबाट गएको फौजले डाँडाको टापुबाट गोर्खालीहरुको गढी देखे । किनलकको भनाइमा त्यो गढी अत्यन्त अस्वस्थकर ठाउँ थियो । दिउँसोको समयमा अत्यन्त गर्मी हुन्थ्यो, रातमा भारतको केही ठाउँहरुको जनवरी र डिसेम्बर महिनाको जस्तो जाडो हुन्थ्यो । कुहिरोले केही देखिँदैन थियो । उनको रेकीमा गढीमा पुग्न कुनै जीवित प्राणीले पनि सक्छ जस्तो थिएन । अन्त्यहीन भिरको टापूमा गढी थियो । गढीसम्म पुग्ने बाटोको माटो यति कमजोर लाग्थ्यो कि टेक्नेबित्तीकै चिप्लिएर त्यही अन्त्यहिन भिरको फेदमा विश्राम लिनुपर्ने थियो । वास्तवमा किनलक यस गढीबाट काठमाडौँतिर जाने कुरामा हतास भइसकेका थिए । एकातिर रसद पानीको अभाव र दुर्भेध्य गढी थियो भने अर्काेतिर विकराल समस्या त उल्लेख्य संख्यामा सैनिकहरु बिरामी र भोकले आक्रान्त थिए ।
- See more at: http://www.hamrosandesh.com/2016/03/51276.html#sthash.4nkQnvqY.dpuf

सिन्धुलीगढी घुमेर हेर्दा - भेषराज रिजाल

२०७० साल वैशाख १७ गते शुक्रबार ।
जनकपुरधामबाट बर्दिबास हुँदै लागियो काठमाडौंतिर । बाटोसँग म अपरिचित, मसँग बाटो अनभिज्ञ, तथापि पहिलो पाइला रोमाञ्चक थियो मेरा लागि, जिज्ञासु यात्री भेटेर आनन्दित भएझैँ लागेको थियो बाटो पनि । पहिलोपटक देखेका दृष्य र फुरुङ्ग मनका उद्वेगले पाइरहेथेँ अतुलनीय आनन्द ।
एउटा बजारको फर्सी व्यापार हेरेर रमाएँ म । छोराको वर्थ डे सम्झँदै हुनुहुन्थ्यो एकनारायण शर्मा । साथी रमेश अर्यालको फोनले एकैछिन आजको प्रस्थान विन्दू जनकपुरै पु¥यायो स्मृतिमा । ढल्केबर कटेर बर्दिबास हुँदै सिन्धुलीतिर हानिँदै थियौँ हामी ।
चुरेबाट ओर्लेर फाँटमा फिँजिएको खहरेको छेउछाउमा टक्राकटुक्रुक उभिएका झुप्रे सुकुम्बासी बस्ती भेटिए । खोलामा बगाएको सालनालसितको नवजात शिशुजस्तै फराकिलो धरतीको आँगनमा मिल्किएका थिए ती झुप्रा, जहाँ सम्भ्रान्तहरू फोहोरका डङ्गुर मिल्काउँछन् । मलाई कसैले धर्तीका सुन्दर चिज खोज्न लगाए निश्चय नै रोज्दथेँ तिनै झुप्रा र ती झुप्रामा बस्ने गरिबहरूलाई । चिसो र तातोभन्दा बढ्ता छोइएर ती झुप्राको गरिबी मेरो मनमुटु हुँदै मस्तिष्कमा पुग्यो । त्यसले मेरो टाउकादेखि पैतालासम्म हल्लायो । गोडाहरू भारी भए । आँखाहरू गुच्चाजस्ता भए । कन्सिरीमा नयाँ रौँ उम्रिएझैँ भयो । मनमनै प्रश्न प्रतिप्रश्न गरेँ ‘कसैको आलिशान महल, कसैको हावाले उडाउलाजस्तो झुप्रो ! कसरी हुन सक्छ यस्तो ? कसैको भोग्नै नसक्ने सम्पन्नता, कसैको सहनै नसक्ने विपन्नता ! एउटै आमाका सन्तानबीच पनि यत्रो विभिन्नता !
आस्थाका पर्खाल भत्काएर भित्री आँतमै भेल पस्यो । व्रिmयाशील हातमा रित्तो उपलब्धि सिबाय केही हात लागेन । शब्द टेढामेढा बनाएर कर्तब्यच्यूतहरू मात्र लाभान्वित भइरहे । दिनहीनका सपना अनपेक्षित त्रासभित्र हुँडलिएर मर्माहत भए । यस्तो देख्दा स्तब्ध हुनुपर्नेमा बुज्रुकहरू उत्साहित भएर समाजलाई झन् अधोगतितिर बढाउनमा तल्लिन रहे । म वर्तमानका पीडादायी चस्काले छटपटिएको छु ।
लालगढ पार गर्दा मुखमा कोक्रो लागेका गोरुले जोतको देखियो । निर्धालाई अवसरमा बन्देज लागेको देख्दा मेरो बुवाले भन्ने गर्नुहुन्छ ‘मुखमा कोक्रो’ । एक त्यान्द्रो तृण चर्न नपाई जोतिएका छन् बिचरा गोरुहरू । बाँझो धर्ती फोरेर धराभरा बनाउन जोतिने जोरु तर खाने मालिक । सोझालाई जोताएर खान पल्केका कामचोरहरूप्रति घृणा उब्जन्छ बिछट्ट ।
विपनाका अनेक अफ्टेरा कुल्चँदै सपनाको लोकमार्गमा मर्निङ वाक गरेझैँ लाग्छ । सूर्य रश्मीमा टेकेर घडीपला नाप्दै सुस्त..री घिस्रिरहन्छन् दिनहरू । रात भने सिरक डसनाभित्र हुस्सु निद्रामा तन्द्राका चल्ला कोरल्दै सुगमपथ भएर सुइँकुच्चा ठोक्छन् । जुनेली चकह शीतल छर्दै टिलपिलाएर झुल्किरहन्छ । आकाशका तारागण एकएक गर्दै मेरैछेउमा खस्छन् तर म कसैको माया र यादले टोलाउँदै तन्द्रामा पुगेर अर्धसपनामा अल्मलिएको हुन्छु । व्युँझिँदा के दशा होला मेरो । हरे ! बरू मेरो दुईदिने जिन्दगी सपनामै बितेहुन्थ्यो । तन्द्रामा आफ्नै चिन्तामा रहेँछु म । व्युँझँदा महेन्द्र लोकमार्ग छोडेर जापानी सहायतामा बनेको विपी लोकमार्गमा कुद्दै रहेछ गाडी । यही मार्गको नाम लेखेर लोक सेवा आयोगका कति परीक्षा उत्तिर्ण गरिएहोला । जागिरे कामले डुल्दा बल्ल पहिलो पाइला परेको छ यसमा ।
सालका लाँकुरा हुर्किरहेको जङ्गलका बीचबाट नागबेली पर्दै सुइँकुच्चा ठोकिरह्यो बाटो । खोलाका गुडुल्की हेर्दै रमाइरहेँ म । आइरहे – बस्ती, खोला, पुल, जङ्गल, चौर, जसरी मान्छेको जिन्दगीमा आउँछन् बालवय, युवा अवस्था, प्रौढावस्था आदि । अनि ती वयमा बयेली खेल्दै आउँछन्, खुसी, चिन्ता, दुःख, पीडा, उत्साह आदि । मेरो आस्थाको घरबारीछेउमा सगर्व ठडिएको काफलको बोटमा धेरै पहिल्यै वसन्त फक्रेको रहेछ । मनभित्र हेमन्तको अत्यासलाग्दो उराठ किन पालेको रहेछु खै ? मनमा उराठ पालेर मस्तिष्कमा खुसी फुलाउन कहाँ सकिन्छ र ? दृष्यसँग रमाएको मन गह्रुुङ्गो हुँदै थियो । शिशिर र हेमन्तबाट भागेर सदावहार वसन्त फुल्ने फुलबारीमा पुग्न चाहन्छु तर सिरिखुन्ने उदासीले छोपिहाल्छ फेरि पनि ।
भीमानमा एकैछिन बिसायो यात्रा । ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर राना मगर भेटिए सहिद पार्कमा । उनीहरूलाई नियाल्दा ‘फर्किरहेको इतिहास चर्किरहेको घाउ’ शीर्षकको ‘देश सधैँ रूने छैन’ कविता सङ्ग्रहमा प्रकाशित आफ्नै कविताका हरफ सम्झिएँ –
सबै भन्छन्
बगेको पानी÷गएको समय
कहिल्यै कहिल्यै फर्कँदैन
फेरि किन
सागरको पानी फर्केर
आकासबाट बर्षेको देखिन्छ ?
झरनाबाट खसेको देखिन्छ ?
पोहोरसाल गएको पैह्रो
फेरि अहिले
गाउँपिच्छे धर्किरहेछ
बूढा आमाबाबुको
कलेजी चर्किरहेछ
भीमान र रुम्जाटार भएर दर्किरहेछ !
भीमान र रुम्जाटार युद्धमा मारिएकाहरूप्रति श्रद्धा कुसुम थिए ती । नदेखेर लेखेको ठाउँमा पुगी देखेर केही लेख्न खोज्दै थिएँ । परिचय भएर पनि अपरिचितजस्तो । अपरिचित भएर पनि पहिल्यै चिनजान भएजस्तो । आँखा विच्छ्याएर व्यग्र प्रतिक्षा गरेको आफन्त भेटेजस्तो भयो मलाई अनायास भीमान भेटिँदा । मनमनै प्रार्थना गरेँ भिमानबासीले फेरि कहिल्यै भोग्न नपरे हुन्थ्यो त्रासद युद्ध ।
मधु रेग्मी सरले नियमित खाने औषधि किन्न रोकिएका थियौँ हामी त्यहाँ । युरिक एसिडले बेस्सरी सुनिएका थिए सरका खुट्टा तर पाइएन औषधि । ‘खानदानी रोग’ भन्दै आततायी रोगलाई ब्यङ्ग गर्दै मुस्काउने सरलाई देखेर घरि हाँसो त घरि मायाले द्रविभूत हुनपुग्छु म । लाग्यो, आफैभित्र अनेक रोग पालेर पनि मुस्काउन सक्नुपर्ने रहेछ मान्छे ।
चिया खाएर विदा भयौँ भीमानसँग ।
मुलुकभित्र केही नगर्ने तर विदेश पुगेपछि जस्तो पनि काम गर्ने नेपाली चलनबारे चर्चा हुँदै थियो, भुइँकटहर रोपेको सुख्खा पाखो देखियो । केही गर्न खोज्ने तर निर्वाह नचलेर बीचमै छोड्नेहरू छन् यहाँ ।स्थानै पाउँदैन बजारमा विचराहरूको नयाँ कामले, अनि जाँगर मरेर छोड्छन् उनीहरूले । जागिरे जङ्घारमा नपसेको भए कृषि कर्ममै हुन्थेँ म पनि । मैले नै रोपेका भुइँकटहर मर्न आँटेको कल्पेर म झन् भक्कानिएँ । थाहा पाएँ, आफ्नो पीडा मात्र असह्य हुने रहेछ यो स्वार्थी दुनियाँमा ।
क्या सुन्दर बाटो तर निरीह काठे झुप्राहरू ! डढेलाले सखाप पारेछ जङ्गल । डढेलो सल्कँदा गुहारे गरेनछ छिमेकी बस्तीले जसरी म जल्दा वास्ता गर्दैनन् मेरा आफन्तहरूले । डढेलाको ठुटो जस्तै भएको छु म भित्रभित्र तर सतह नियाल्नेहरू देख्दैनन् जलेको मन । वाध्यतावश मुस्काउँदा परेका मुहारका मुजा हेरेर सोच्छन्, साह्रै खुसी छ यो ! दुःख जोसुकैलाई देखाउने चिज पनि त होइन रहेछ !
‘मैलाई सल्काइरहेको दीप शिखाका लबलबाउँदा ज्वालाले तिमी राँकियौ कि भनेर वरपरको शीतल बतास मैले नै बोलाइदिनुपर्ने । वर्षात्का बुँद साँचेर हिउँदे खडेरीमा निर्वाह चलाइदिनुपर्ने । यो कस्तो रीत हो ? यो कस्तो प्रीत हो । यो कस्तो जीवन गीत हो । अनि यो कस्तो जित हो । हारेर पनि तिम्रा लागि जितेको मान्नुपर्ने । जितेर पनि मन फुकाएर रमाउन नपाइने । तिमी मेरो चोट लागेको मुटुको धड्कन रहेछौ । म प्रकृति । तिमी मानव जाति ।’
‘रक्सीको रौस्याहा मादकताले चुर्लुम्म बनेका तिम्रा अधरबाट निस्कने थर्थराहट र सुवाश धेरैचोटी भोगेको छु । यसपटक तिम्रा पयरका लड्खडाहटसँग ठोक्किएर दुबैसँगै लड्यौँ । म उठेर यताउताका नजरबाट भाग्न चाहेँ तर तिमी बेपरबाह लडिर्यौ । म तिमीलाई छोडेर धेरै पर पुगेँछु । थाहा छैन तिमी अझै लडिरहेछौ वा उठेर लडखडाउँदै हिँड्न थाल्यौ । अरूलाई बल्झाउन तिमीले थाप्ने गरेको जालमा तिमी आफै फसिरह्यौ । तिम्रो जाल तिम्रै लागि महाजाल नभए हुन्थ्यो । मेरो त्रसित मन बोलिरहेछ । शायद तिमीसँग प्रेम बसेछ मेरो । तर तिमी मलाई सिध्याएर रमाउँछौ । म गर्छु तिम्रा सन्तान–दरसन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना । तिमीले कहिल्यै राखेका छौ मप्रति थोरै सहानुभूति र माया ?’
डढेलोले पोलिएर अधमरो भएको प्रकृति मसँग सम्वादरत थियो । प्रकृतिका कलरवपूर्ण वाणीमा मेरा कान टाँसिएका थिए, चुम्बकमा फलामजस्तै । म निःशब्द थिएँ । सोचिरहेको थिएँ –प्रकृतिले दिएको ऊर्जा सल्बलाइरहेको छ जीवनमा हरक्षण । तर सकेको छैन केही गर्न प्रकृति संरक्षणका लागि मैले ।
जङ्गल, खोला, सडक र बस्तीको मिलेमतो हेरेर रमाएँ म । कमला पुल त¥यौँ हामी । तल सङ्लो खोला बगिरहेछ । मैले आफू अनुकूल अर्थ लगाएँ –सङ्लिन बग्नुपर्दो रहेछ । तर म बग्न नसक्ने मान्छे कसरी सङ्लिन सक्छु ? र त, धमिलिएको छु मेरै मान्छेहरूको मनभित्र । छटपटी भुल्न मनले मनमनै गाउन थालेछ – सङ्लो पानी धमिलो मन किन ?
सिन्धुली माडी आइपुगेछ । सोधेँ कति टाढा छ सिन्धुली गढी ? जवाफ पाइयो – १९ कि.मी. टाढा रहेछ अझै । सुन्दर देखिएका छन् सडकका गुडुल्की र क्षितिज । सुरक्षित अवतरण खोज्दै ओर्लिरहेछन् मोडहरू । मात लागेझैँ लठ्ठ परेर नियालिरहेछु गाडीको झ्यालबाट ।
सोला भञ्ज्याङबाट गढीतर्फ उकालियौँ । सिन्धुली गढी आइपुग्यो । हतियार भण्डारण गर्ने वा पानी सङ्कलन गर्ने कुवा जस्तो ठूलो खाडल, पुनर्निर्माण भएको पर्खाल र युद्ध किल्ला भएर भेटियो गढी । म एकाकार भएँ उन्यु फुलिरहेका चौरहरू, तलका बेँसी, माछिकाँडे डाँडाका लम्बेतान श्रृङ्खलाहरूसँग । दुईवटा थुम्कामा उक्लेर वरपर हेरियो पालैपालो । सिन्धुली गढी संरक्षण तथा सम्वर्धन समिति कार्यालय रहेछ चौरमा । अलिपल्तिर खोल्सामा देखियो भत्केको दरबार मेरो जिन्दगीजस्तै लथालिङ्ग । अनायास सम्झिएँछु एउटा लोकगीत –
सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति पो राम्रो दरबार मा¥यो नि मायाले मा¥यो ...
हो, त्यही रहेछ बुद्धिकृष्ण लामिछानेले गाउने ‘कति पो राम्रो दरबार’ जुन अहिले भग्न भएको छ प्राणपखेरूविहीन उनको जीवनजस्तै ।
हाम्रो यात्रा फेरि सडकमा आइपुग्यो । भेटिए बनमारे र पाती एकैठाउँ, परम्परामा आधुनिकता मिसिन आइपुगेको नेपाली समाजजस्तो भएर । के पीर परेर हो न्याउली भने उरालीरहेछ विरह । म भने विरह पालिरहेछु मनमनै । खोइ म किन हुन सकिन न्याउली ? मनको विरह पखाल्न गाउन सकिन न्याउली भाका ।
चुत्रो र ऐसेलु खाँदाका सम्झनासँग हराउँदै कालो सेतो पोतिएका प्याराफिटले सुन्दर बनेको आफू जाँदै गरेको सडकसँग हराएँ म फेरि ।
खनिया खर्कमा सल्लाको सुसेली सुनिएथ्यो सहयात्री बोले क्या मनोरम दृष्य प्रकृतिको । रूखमा राखेका मकैका डाँठ र पिपलका रूख हेरेर रमाइरहेँथे, सहयात्रीले देखाए मकै गोडिरहेका जाँगरिला दिदी बहिनीहरू । रूख विरूवाका सिउर ठडिएका डाँडाका नाक र बाटाका गुडुल्की हेर्दै रमाइरहेथेँ, सहयात्रीले देखाए बुढेसकालको चेहराजस्तो ताछिएर भीरमा झुण्डिएका वरपरका डाँडापाखा । लहरे पिपल, ठूलो चौर, छेउमा खोलो, पुराना बाटाका धर्सा हेर्दै कुदिरह्यौँ हामी । त्यसको परबाह नगरी सुनकोशीको सुसेली प्रतिध्वनित भइरहेथ्यो । जाँगरिला हातहरू देख्दा मभित्र भेटिएको थियो तरुनो मन । गरिबी र उमेरले खाएर मरञ्च्यासे बनेका जस्ता डाँडापाखा देख्दा म पनि भएको थिएँ हात पयर पसारेको खङ्ग्रङ्ग बूढो सिमलको रूख । एकछिन अघि भेटिएको तरुनो मन एकैछिनमा कसरी भएछ बूढो रूख ? म अचम्मित हुन्छु । सोच्छु, उत्साहबिना असम्भव छ तरुनो हुन ।
सिउँडीको छेउमा खिचियो फोटो । काँडेदार सिउँडीका पहेँला सुन्दर फूलमा राता कोपिला औधि सुन्दर देखिए । ती सिउरमा सिउरिन नसकिए पनि फोटोमा सिङ्गार्न लायक ठानिए ।
रातमाटेको भोक उपचार केन्द्रमा भर्ना भइयो । सुनकोशीका ताजा माछा पाइन्छ भनेर बिनसित्ति लोभिएछौँ हामी, माछा त सुकाएर सिध्रा पारेको पो रहेछ । अपेक्षामुन्तिरको प्राप्तिले रमाएन मन । स्वार्थी मन स–साना कुरामा पनि ठुस्सिन्छ किन ? मनको प्रश्न मनभित्रै हुँडलियो । अघाएको पेट धुले बाटामा ठोक्किँदा थचारिँदा भोक सहनभन्दा झन् कठिन भयो । कतिबेला उल्टी हुन्छ भनेर त्रसित भइरहेँ म ।
दुम्जाबाट विराटनगर पुगेका विपी कोइराला परिवारको सम्झना भयो । लमजुङे कोइराला दुम्जा हुँदै पुगेका रहेछन् विराटनगर । सानैदेखि भोग्दै आएको आफ्नो परिवारको बसाइँ सराइँ सम्झेर भने चस्किन्छ मेरो छाति । बसाइँ सर्दासर्दै म मेरै मुलुकमा परदेशीजस्तै भएको छु, न जन्मथलोले सम्झन्छ न त हालको बसोबासले चिन्दछ । न त मैले केही गर्न सकेको छु आफ्नो जन्मभूमि र थातथलोलाई । भीडमा हराएको आफ्नो अस्तित्व खोजीका लागि तड्पिन्छु म ।
जाँदाजाँदै देखिएको बाटामुन्तिरको कुशेश्वर मन्दिरमा पसेथ्यौँ हामी । मन्दिरबाट निस्केर सडकसँग बग्न थाल्दै थियौँ हामी, रोशी सुनकोशीमा मिल्यो । त्यो मिलन देखेर सदा विछोडको पीडा सहेर हैरान भएको छातिले केही राहत अनुभूत गर्दै थियो । सिद्धिचरणलाई सम्झँदै मनमनै गुन्गुनाउँदै थिएँ म –
त्यो तामाकोशी त्यो सुनकोशी त्यो गिरि फोरी बहने रोशी
दाप्चा पुल तरियो । भकुण्डे बेँसी र बुचाकोटपछि धुलिखेल आइपुगियो । काठमाडौंको कोलाहल र धुलोमैलोको स्मरणले तर्साइसकेको थियो धुलिखेल आइपुग्दा नपुग्दै । यद्यपि मेरो यात्रा काठमाडौंको त्यही फोहोरको डङ्गुरभित्र चक्कर लगाइरहेछ अचेल, जहाँ दैनन्दिन नरक नभोगी सुखै छैन । काठमाडौं नरकशाला हो फोहोरको, अपराधको, त्रासको, कहरको, छटपटीको, कुण्ठाको, पीडाको, वेदनाको, अपहेलनाको, ... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 भाद्र, 2070
http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4454