Wednesday, July 26, 2017

भत्किएकाे सिन्धुलीगढीजस्तै गायक थापाकाे जिन्दगीः दीपक विहीन

दीपक विहीन
 घुमन्ते स्वभावले गर्दा लोकगायक कृष्णविक्रम थापालाई प्रायः भेटिन्छ सडक, बजारमा । ६६ जिल्ला त घुम्न भ्याइसक्नुभयो, उहाँले । भन्नुहुन्छ–रुखै, भाइ के बानी लाग्यो लाग्यो घुम्ने ।
सानैदेखिको हो उहाँको घुम्ने बानी । महाभारतको लेकमा बाख्रा चराउँदाहोस् या बलेनी माइथान, बेनीको जात्रामा गएर जुहारी गाउन भनेपछि मरिहत्ते गर्ने बानीले नै आफूलाई गायक बनाएको अड्कल काट्नुहुन्छ थापा । २०१८ सालतिर नै १५ वर्षको उमेरमा ‘मनोहरि झ्याउरे तथा लोकगीतको पुस्तक छपाएर हाटबजारमा गाउँदै किताव बेच्ने बानी परेका थापा स्थानीय जात्रामा जुहारी गाएर निक्कै लोकप्रिय भइसक्नुभएको थियो ।  
त्यो लोकप्रियता सिन्धुली ढुरु्ग्रेबासका चक्रमान श्रेष्ठले पनि थाहा पाउनुभएको थियो । तत्कालिन प्रधानपञ्च चक्रमानले पाँच सय रुपियाँ दिएर गायक थापालाई रेडियो नेपालमा गीत गाउन पठाए । गाउँले केटो, पहिलो पटक रेडियो नेपाल छिरेको ।
रनभुल्लमा परे गायक थापा । प्रतियोगितामा पहिला पनि भाग लिइसकेका साथीहरुबाट नयाँ खालको गीत गाए पहिलो हुन सकिन्छ भन्ने थाहा पाएपछि रेडियो नेपालको चौरमा बसेर गीति गेडा टिप्न थाले–सिन्धुलीगढी घुमेर हेर्दा...। गाउँतिर गाइने ‘हिमालै चुली त्यो पल्लापटी, रामसाइला कोकलेले बन फाँड्यो मार्याे नि मायाले मार्याे..बोलको गीतमा उहाँले सिन्धुलीगढीका शब्दलाई मिलाउनुभएको थियो । जुन गीतकी पात्र सुन्तलीमाईलाई उहाँले देख्नुनै भएको थिएन । भन्नुहुन्छ–गीत गाएर गएको दुई वर्षपछि मात्रै गढी दरबार छेउमा बस्ने सुन्तलीमाईलाई देखेको थिएँ । बुढी रहिछिन् । गीत सुनेपछि उनी पनि खुशी भइन् ।
२०३६ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उहाँले सोही सिन्धुलीगढी घुमेर हेर्दा....गीत गाएर प्रथम हुनुभएको थियो । जुन गीतले सिन्धुलीगढी दरबारलाई राष्ट्रब्यापी नै बनायो ।
उहाँलाई धेरैले चिन्दैनन् सडकमा । तर, उहाँले गाउनुभएको गीत आज धेरै श्रोता र दर्शकको आकर्षण बनेको छ । धेरैका हाते फोनमा उही धुन बज्छ,‘सिन्धुलीगढी घुमेर हेर्दा..।
झिनो शरीर, मैलो कपडा, झोला भिरेका बुढा । झोलामा आफैँले गाएका चर्चित आठ गीतहरुका ट्रयाक । लौन दाइ गाइदिनुपर्याे भनेर कसैले अनुरोध गरिहाले भने खल्तीमा राखेको कृतिम दाँत मुखमा राख्नुहुन्छ र ट्रयाक लगाएर पहिला गाइहाल्नुहुन्छ–सिन्धुलीगढी घुमेर हेर्दा...। गायक थापा रक्सीले बिग्रियो भन्नेहरु पनि धेरै छन् । कसैको चोरेको छैन, ज्यान मारेको छैन, म कसरी बिग्रिएँ ? प्रश्न गर्दै उहाँ भन्नुहुन्छ–मैले रक्सी खाएको कुरा मात्रै नगर्नुस् न, कसले खाँदैन रक्सी ? लोकगीतको क्षेत्रमा पुर्याएकाे योगदानको मूल्याङ्कन गर्नुस् न । जात्रामा गएर युवतीहरुसँग जुहारी गाउँदा नै रक्सी पिउन सिकेको उहाँ बताउनुहुन्छ । महाभारतका लेकमा बाख्रा गोठाला जाँदासानैदेखि के सङ्गतले हो कृष्णविक्रम थापा गीताझ्गे बने ।
बरिष्ठ लाेकगायक कृष्ण बिक्रम थापा
ऐतिहासिक सिन्धुलीगढी किल्लामा २०२१ सालसम्म निकै चहलपहल थियो । तर, त्यो ऐतिहासिक चहलपहल अहिले कथा भएको छ । सिन्धुलीगढीको निशाना भेट्न मुस्किल छ । गढी दरबार पनि भत्कियो । उजाड छ, गढीको सेरोफेरो । सिन्धुलीगढी घुमेर हिंड्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार...गीत गाएर गढी दरबारलाई प्रचारमा ल्याउने गायक कृष्णविक्रम थापाको हालत पनि भत्किएको क्षतविक्षत गढी र भत्किएको दरबारभन्दा भिन्न छैन, अहिले । तर, उहाँ आफूलाई त्यसमा असन्तुष्टि नभएको बताउनुहुन्छ ।
आफूलाई घुमन्ते गायक भन्न रुचाउनुहुन्छ गायक थापा । कति घुमन्ते बन्ने भनेर राजधानीमा खुलेका दोहोरी रेष्टुरेन्टमा गाउन पनि उहाँ पुग्नुभयो । आफ्नो समूहका केटीहरुलाई ग्राहकबाट जोगाउनै कठिन भएपछि रेष्टुरेन्टमा गाउन छाडिदिको उहाँ बताउनुहुन्छ ।
२०२७ सालमा पहिलो पटक सुन्तलीमाईपछि तोरीलाहुरे, बाइफाले, खैंजडी भजन गीति एल्वम उहाँले प्रकाशित गरिसक्नुभएको छ । उहाँको गीति यात्रामा राजेन्द्रराज कठायत, मिनबहादुर लामा, रामहरी हायूलगायत लोकगीत प्रेमीहरुको सहयोग रहेको गायक थापा बताउनुहुन्छ । लोकगीत सङ्गीतमा योगदान पुर्याएवापत उहाँलाई उमानाथ शास्त्री प्रतिष्ठान, रमा ठकुरी सेवा समाजले सम्मान गरिसकेको छ ।
लोक गायक थापाले जम्माजम्मी ६१ वटा गीत गाउनुभएको छ । अझै पूराना भाका खोजेर गीत गाउने मनमा इच्छा छ तर त्यसको लागि लगानी गर्ने हैसियत उहाँमा छैन । उहाँ भन्नुहुन्छ–लुकेका लोकभाका त कति छन् कति ? नमरिबाँचे कालले साँचे ति सबै श्रोतालाई दिएरै मर्छु ।
००००००००००००

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई... निराशै लाग्यो मलाई त ! नारायण अधिकारी/उज्यालो ।

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई... निराशै लाग्यो मलाई त !

सिन्धुली, मंसिर ९ – ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो...’ कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा गाएको यो गीतले सिन्धुलीगढी दरबार जीर्ण हुँदा पनि त्यसको महत्व र सुन्दरतालाई चिरस्थायी बनाएको छ । विजय किल्लामा बसेर चियाउँदा दरबारको मनमोहक दृश्य देखेपछि लेखिएको गीतमार्फत उहाँले सिन्धुलीगढीलाई मानिसको मुखमुखमा झुण्डिने बनाउनुभयो । 
१८२४ सालमा अंग्रेज फौजलाई हराएर चर्चा कमाएको यो ठाउँ अहिले ओझेलमा छ । दुईसय पचास वर्ष पुरानो ऐतिहासिक सिन्धुलीगढीमा पर्यटनको निकै सम्भावना भएपनि राज्यले उपेक्षा गरेको सिन्धुलीगढी संरक्षक समितिका संरक्षक केशवराज आचार्यले बताउनुभयो । ‘एक सय वर्ष पुगेपछि राज्यले यस्ता महत्वपूर्ण ऐतिहासिक ठाउँलाई संरक्षण गर्नु पर्ने हो तर राज्यलेनै उपेक्षा गरेको छ’ संरक्षक केशवराज आचार्यले भन्नुभयो । सरकारले पयर्टन वर्ष तथा घुमफिर वर्ष मनाउँदा पनि सिन्धुलीगढी क्षेत्रलाई उपेक्षा गरेको उहाँको भनाई छ । राज्यले वेवास्ता गरेपनि विभिन्न काम र बहानामा सिन्धुली पुग्दा वा त्यो बाटो भएर आवतजावत गर्दा सिन्धुलीगढी घुम्न पुग्नेहरु भेटिन्छन् । वनभोज खानेगरी सपरिवार सिन्धुलीगढी पुगेका चितवनका धु्रब पौडेलले इतिहास र गीत सुनेर आफु सिन्धुलीगढी पुगेको बताउनुभयो । ’तर गीतमा सुनेजस्तो राम्रो रहेनछ’ पौडेलले व्यंग्य गर्नुभयो ‘अब गीत पनि यस्तो बनाउनुपर्ला जस्तो छ, सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई निराशै लाग्यो मलाई त ।’ त्यत्रो ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीलाई नराम्रो भन्न खोजेको नभइ दरबारको यस्तो जीर्ण अवस्थाले मन पोलेको उहाँको भनाई छ । सरकारले केही नगरेपनि स्थानीयवासिन्दाले संरक्षण गर्नुपर्ने पौडेलको भनाई छ । 

यस्तो छ पर्यटकीय सम्भावना तर राज्यले गर्‍यो वेवास्ता

झण्डै तीन हजार वर्गमिटर क्षेत्रफल भएको सिन्धुलीगढीमा पर्यटकीय सम्भावना धेरै छ । काठमाडौंबाट बिपी राजमार्गको रमणीय नागबेली बाटो हुँदै सिन्धुलीगढी १ सय ३० किलोमिटरमा पुग्न सकिन्छ । सिन्धुलीमाढीबाट २० किलोमिटर उत्तरमा रहेको यो ऐतिहासिक गढी र दरबारको दर्शन गर्न पाइन्छ । बिपी राजमार्गको नागबेली बाटो हुँदै मोटरमा हुइकिँदै केही घन्टामै तराईबाट समेत त्यहाँ पुग्न सकिन्छ । त्यहाँबाट तराईका मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न सकिन्छ । 
गढीको डाँडोमा पुग्ने बित्तिकै जोकोहीको मनपनि चङ्गाजस्तो फुरुङ्ग भइहाल्छ । गढीडाडाँको चिसो, मनै छुने हावाले पर्यटकलाई नलोभ्याउने सायदै होला । गढी क्षेत्र नजिकैको सोला भन्ज्याङ्बाट हुस्सुसँग लुकामारी खेल्न र हुस्सु नलागेर खुलेको बेला गौरिशंकर हिमाललाई नजिकैबाट हेर्न सकिने स्थानीय राजेश कार्कीले बताउनुभयो । पुर्खाको वीरताको इतिहास आफैले हेर्न अनि गर्मीको बेला तराइको गर्मी छल्न र हिमाल हेर्न पर्यटक पुग्ने गरेको उहाँको भनाई छ ।  
गढी परिसरमै रहेको सिद्धबाबाको मन्दिर छ । जहाँ एकसय १२ वर्ष पुरानो घण्टी पनि छ । भर्खरै बनाइएको वनभोज स्थलले पर्यटक बढाउन सघाएको छ । त्यस्तै पुरानो शिलालेख पनि भेटिन्छ । 

२४ सय अंग्रेज फौजलाई हराएको गढीको इतिहास 

‘२४०० अंग्रेज फौजको नेतृत्व गर्दै आएका कप्तान किनलक नेपालीको निशानामा परे । नेपाली सेनाको नेतृत्व गरेका वंशु गुरुङ किनलक नेतृत्वको अंग्रेज फौजलाई हराउन आतुर थिए । वंशुले आदेश दिए्, ‘नर्हानु, हारेर नआउनु ।’ होचा कदका मस्सुर ठानिएका नेपाली सैनिकले छाती फुलाउँदै शत्रु अंग्रेज सेनामाथि धावा बोले । गोर्खाली सेनाले छापामार शैलीबाट सामरिक सिन्धुलीगढीमा अंग्रेज सेनालाई धुलोपिठो पारेर लखटेका थिए । यो घटना १८२४ साल कात्तिक २४ गतेको हो । 
अंग्रेजी फौजको त्यो हार दक्षिण एसियाकै पहिलो हार थियो । हो, त्यही ऐतिहासीक ठाउँ जसले विश्वमै साम्राज्य जमाएको ब्रिटिस सेनालाई धपाएको थियो । जहाँ वीर गोर्खाली सेनालाई त्यो ठाँउका अरिङगाल, अल्लो, सिस्नोले पनिसहयोग गरेका थिए । अरिङगालले चिलेर, सिस्नोले पोलेर, अल्लोले लिसो टाँसिएर अंग्रेजलाई धपाउन सघाएको अन्वेषणकर्ता सागर कुमार ढकालले उज्यालोअनलाइनलाई जानकारी दिनुभयो । 
सिन्धुलीगढी संरक्षक समितिका संरक्षक आचार्यका अनुसार पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालिन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई हराउन नेपाली फौजले यो ठाउँमा गढी बनाएको थियो । १८२४ साल कात्तिक २४ गते किनलकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोरखाली सेनाले सिन्धुलीगढीबाट धपाएको थियो । 
१८७३ सालमा सुरु नेपाल अंग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गर्नुभएको थियो । १८८६ सालको माघमा नेपालका भीमसेन थापा पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए । 

संरक्षणमा स्थानीय बासिन्दा सक्रिय

सिन्धुलीगढी संरक्षणका लागि स्थानीय बासिन्दाले सिन्धुलीगढी संरक्षण समिति गठन गरेका छन् । गढीमा रहेको सानोगढी, पौवागढी, इनार र तोप हान्ने प्वाललाई स्थानीयले पुनर्निर्माण गरेरे ऐतिहासिक महत्वलाई जोगाउने काम गरेका छन् । गढी परिसरमा वनभोज स्थलको निमार्ण गरिएको छ भने खानेपानीको पनि व्यवस्था गरिएको छ । संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सिन्धुलीगढीमा हरेक कात्तिक २४ गतेका दिन गौरव दिवस मनाउन थालिएको छ । गएको कात्तिक २४ गते ‘राइड टु सिन्धुलीगढी’ नाम दिएर काठमाडौं–सिन्धुलीगढी साइकल यात्रा पनि गरिएको थियो । 
तर यतिमात्र पहलले सिन्धुलीगढीको संरक्षण नहुने संरक्षक आर्चायको भनाई छ । ‘३६५ दिनमा १ दिन हामीले दिवस मनाएर कसरी संरक्षण गर्न सकिन्छ ?, सिन्धुलीगढी दुलही हो र एक दिनको सिंगार पटारले सकिने ?’ उहाँको प्रश्न थियो । 
http://ujyaaloonline.com/news/66721
/