Thursday, November 29, 2012

सिन्धुलीगढी घुमेर हेरौँ …


यो कर्णप्रिय लोकभाकाले थप परिचित गराएको ऐतिहासिक सिन्धुलीगढी क्षेत्र जान पर्यटकलाई पैदल हिँड्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ। स्थानीय बासिन्दा गाँउ विकास समिति र जिल्ला विकास समिति सिन्धुलीको आर्थिक सहयोगमा कच्ची मोटरबाटो निर्माण गरिएपछि सिन्धुलीगढी क्षेत्रमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको हो। 
सिन्धुलीगढी क्षेत्रमा मोटरबाटो लैजान २०६१ सालदेखि सुरुवात भए पनि भौगोलिक विकटता र कमजोर भू–वनौटले असफ हुँदै आएको थियो तर अहिले राजनीतिक सहमतिका आधारमा ट्रयाक परिवर्तन गरी बाटो खनिएकाले सफल भएको बाटो निर्माण समितिका कोषाध्यक्ष राजनप्रसाद अधिकारीले बताउनुभयो।
उहाँले भन्नुभयो–उक्त बाटोमा रु.४० लाख खर्च भए पनि मोटरबाटोले पूर्णता पाउन सकेको थिएन। अहिले स्थानीय बासिन्दाको सहयोग र जिल्ला विकास समितिबाट प्राप्त रु.१० लाखको लागतमा निर्माणाधीन बीपी राजमार्गको सोलाभञ्ज्याङबाट करिब तीन किलोमिटर कच्ची मोटरबाटो गढी क्षेत्रमा पुर्‍याउन सफल भएका छौँँ।
अहिले एतिहासिक गढी क्षेत्रमा सहजरुपमा यातायातका साधन लिएर जान सकिने भएको छ भने ऐतिहासिक गढी क्षेत्रमा रहेका ऐतिहासिक संरचनाको पुनःनिर्माण सुरु गरिएकाले आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको अधिकारीले बताउनुभयो।
लोक गायक कृष्णविक्रम थापा र गीतमा उल्लेखित सुन्तलीमाई सांसारिक माया जालबाट बिदा भएजस्तै गढी दरबारको पनि संरक्षणको अभावमा भग्नावशेषमा परिणत हँुदै ऐतिहासिक महत्व समाप्त हुँदै गएको थियो। तर अहिले पुरातत्व विभाग र स्थानीय निकायको आर्थिक सहयोगमा अधिकाङ्श भौतिक संरचना पुनःनिर्माण गरिसकिएको सिन्धुलीगढी संरक्षण समितिका ऋषि सिग्देलले जानकारी दिनुभयो।
उहाँका अनुसार–ठूलो तथा सानो पौवागढीको पुनःनिर्माण सकिएको र उक्त परिसरमा रहेको इनार र सानो पौवागढीसम्म जाने उकालो बाटोमा ढुङ्गाको सिँढी निर्माणलगायतको पुनःनिर्माण सकिएको छ।
साथै अहिले पुरातत्व विभागको आर्थिक सहयोगमा गढी क्षेत्रका विभिन्न स्थानमा पिकनिक स्पोर्ट, व्यवस्थित पार्क, खानेपानीको व्यवस्थालगायतको काम सुरु गरिएको समितिले जनाएको छ।
लोकगायक कृष्णबिक्रम थापाको लोकभाका गुन्नगुनाउँदै सिन्धुलीगढी क्षेत्रमा आएका ऐतिहासिक सम्पदालाई माया गर्ने हरेक आन्तरिक पर्यटक गढी दरबारको भग्नावशेषलाई देख्दा आँखा रसाउनुबाहेकको विकल्प थिएन तर अहिले सो अवस्था नरहेको स्थानीय बासिन्दा तथा सिन्धुलीगढी संरक्षण समितिका सचिव खिलराज देवकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले गढी क्षेत्र अवलोकनका लागि सयाँंै आन्तरिक पर्यटकहरु आउने गरेका छन्। यसको पुनःनिर्माण पश्चात् प्रचारप्रसार गर्न सकिएको खण्डमा विदेशी पर्यटकहरु पनि अवलोकनका लागि आर्कषित हुने निश्चित छ।
उहाँका अनुसार– ऐतिहासिक सम्पदामध्ये सानो र ठूलो पौवा गढीलाई पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गरिएको छ तर गढी दरबारको आर्थिक अभावका कारण सकिएको छैन।
वि.स.१८२४ को समयमा नेपाल एकीकरणका बेला कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज सेनासँग लडाई गर्न गोर्खाली सेनाले निर्माण गरेको यी गढी किल्लाहरु पुनःनिर्माण पश्चात पर्यटकीय दृष्टिले गढी क्षेत्र थप आकर्षित भएको छ।
ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दाको आग्रहमा बिपी राजमार्ग निर्माण कार्यमा संलग्न श्रेष्ठ कन्ट्रक्सन कम्पनीको करिब रु.एक लाख ५० हजार आर्थिक सहयोगमा सानो पौवागढीको पुनःनिर्माण गरिएको र महाभारतडाँडाको सबैभन्दा अग्लो स्थानमा रहेको ठूलो पौवागढीको पर्यटन मन्त्रालयको रु.पाँच लाखको सहयोगमा हाल पुनःनिर्माण कार्य भइरहेको छ।
 बन्दुकको नाल छिर्ने गरी बनाइएका पौवा गढीका किल्लाहरुले सिद्धबाबा मन्दिरलगायतका भौतिक संरचनाले ऐतिहासिक क्षेत्रलाई थप महत्व दिएको र एतिहासिक किल्लालाई छोएर बिपी राजमार्ग निर्माण भएकाले सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके विदेशीका लागि पनि आकर्षणको केन्द्र बन्ने स्थानीय बासिन्दाले बताएका छन्।’सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार  मार्‍यो नि मायाले मार्‍यो’

संरक्षणको पर्खाइमा सिन्धुलीगढी


राजेश चाम्लिङ राई
 
सिन्धुलीगढी, माघ ११ गते । नेपालले पहिलो पटक विदेशी सेनासँग युद्ध लडेको सिन्धुलीगढी उचित संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदैछ ।
स्थानीय मुकुन्द गजुरेलका अनुसार यो स्थान पहिले 'एउटा विकसित सहर जस्तो' थियो । चुरे क्षेत्रको उच्च स्थानमा रहेको गढीमा कारागार, शत्रुविरुद्ध लड्ने सैनिक किल्ला, खानेपानी, सरकारी अधिकारी बस्ने घरलगायत सम्पूर्ण व्यवस्थित थिए । यो यातायातको साधन नभएको अवस्थामा पैदलमार्ग हुँदै काठमाडाँै प्रवेश गर्ने एकमात्र प्रमुख बाटो पनि थियो । करिब ४०/५० किलोमिटरको क्षेत्रफलमा रहेको चारवटा थुम्को समेटिने गढीको क्षेत्रमा हाल त्यस्ता कुनै पनि भवन छैन । गढीको झल्को दिने बीचको थुम्कोमा तत्कालीन समयमा खानेपानीको जगेडाका लागि खनिएको कुवाको भग्नावशेष छ । त्यसको करिब दुई सय मिटर पश्चिममा एउटा खण्डहर भवन रहेको छ ।
स्थानीय बासिन्दाले 'आड' भन्ने गरेको अङ्ग्रेज फौज लड्दा प्रयोग गरिएको थुम्कोलाई हालसालै सैनिकहरूले प्रयोग गर्ने किल्लाको झल्को दिनेजस्तो बनाइएको छ । थुम्कोको 'आड' लिएर अङ्ग्रेज फौजसँग युद्ध लडेकाले स्थानीय बासिन्दाले गढीको क्षेत्रफलको सबभन्दा पूर्वमा रहेको गढीको थुम्कोलाई आड भन्ने गरेका छन् । यहाँको युद्धबारे पनि स्थानीयहरूबीच रोचक मिथक रहेको छ । माओवादीका केन्द्रीय सचिवसमेत रहनुभएको स्थानीयवासी सीपी गजुरेलका अनुसार नियमित सेना नरहेको नेपालले तत्कालीन भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनी सरकारको सेनाविरुद्ध लड्न केही भरुवा बन्दुक, ढुङ्गा तथा अरिङ्गाल र सिस्नुको प्रयोग गरेको थियो ।
कप्तान किनलोकको नेतृत्वमा रहेको अङ्ग्रेज फौजविरुद्धको युद्धबारे यस क्षेत्रमा रोचक जनश्रुति रहेको छ । स्थानीय मुकुन्द गजुरेलका अनुसार स्थायी सेनाको टुकडी निर्माण गरिनसकेको नेपालले त्यसबेला स्थानीय बासिन्दाको सहयोगमा अत्याधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेज फौजलाई सीमित भरुवा बन्दुक तथा ढुङ्गामुढाको भरमा हराएका थिए । गजुरेल भन्नुहुन्छ, "त्यतिबेला यस क्षेत्रमा बाक्लो सिस्नुघारी र थुप्रै अरिङ्गालका गोलाहरू थिए रे । स्थानीय बासिन्दालाई कब्जा गरेर जबरजस्ती बाटो देखाउन लगाउँदै अगाडि बढेको अङ्ग्रेज फौजलाई मुख्य बाटो छाडेर स्थानीयले सिस्नुघारी भएको गोरेटो बाटो लगेछ ।
नेपालीहरूलाई त सिस्नु थाहा छँदैथियो गोराहरूलाई सिस्नुले पोल्छ भन्ने थाहा थिएन । फलस्वरूप उनीहरूलाई सिस्नुले पोलेर हैरान पार्‍यो । लखतरान हुँदै थुम्को चढ्न खोजिरहेको अङ्ग्रेज फौज जब अरिङ्गालको गोला भएको क्षेत्रमा आइपुगे, गढीको सुरक्षार्थ पहिले तयार नेपाली सेना र स्थानीय बासिन्दाले ढुङ्गाले हानेर अरिङ्गाल बिच्क्याइदिएछन् । तीनवटासम्म अरिङ्गालले चिले मान्छे मर्छ भन्ने कथन छ । कहिल्यै त्यस्तो नभोगेको अङ्ग्रेज फौजलाई एउटै अरिङ्गालको टोकाइ नै काफी थियो । त्यसैले उनीहरूमध्ये कतिपयको सिस्नु र अरिङ्गालको टोकाइबाट मृत्यु भयो । बाँकीलाई सेना बनेका नेपाली नरनारीले हराए ।" युद्धमा २५ सयको सङ्ख्यामा रहेको अङ्ग्रेज फौजमध्ये करिब १६ सय सेनाको मृत्यु भएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।
यो नेपालीहरूले विदेशी सेनाविरुद्ध लडेको अत्यन्त ठूलो युद्ध थियो । तत्कालीन काठमाडौँका राजा जयप्रकाश मल्लको सहयोगमा काठमाडौँ आउन लागेको अङ्ग्रेज फौजलाई बाटैमा आक्रमण गरेर हराएर ठूलो मात्रामा अत्याधुनिक हतियारसमेत कब्जामा पारेपछि पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानलाई अझ सजिलो भएको थियो । विदेशी सेनाविरुद्ध साहसिक युद्ध लडेको यो ऐतिहासिक स्थलमा आयोजित सभामा बोल्दै एकीकृत नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डले देशका अन्य सुविधायुक्त स्थान छाडेर 'सिन्धुलीगढी'मा नै सभा गर्नु 'नयाँ युगको सुरुआत' भएको बताएर आˆना कार्यकर्तामा 'भारतीय हस्तक्षेपविरुद्ध लड्ने' मनोविज्ञान निर्माण खोजे जस्तो देखिन्छ । आइतबारको कार्यक्रममा गढीको ऐतिहासिकताबारे निकै लामो समय खर्च गरे पनि प्रचण्डले यसको संरक्षण र बचावटबारे खासै बोल्नुभएन ।