राजेश चाम्लिङ राई
|
सिन्धुलीगढी, माघ ११ गते । नेपालले
पहिलो पटक विदेशी सेनासँग युद्ध लडेको सिन्धुलीगढी उचित संरक्षणको अभावमा
खण्डहरमा परिणत हुँदैछ ।
स्थानीय मुकुन्द गजुरेलका अनुसार यो स्थान पहिले 'एउटा विकसित सहर जस्तो' थियो । चुरे क्षेत्रको उच्च स्थानमा रहेको गढीमा कारागार, शत्रुविरुद्ध लड्ने सैनिक किल्ला, खानेपानी, सरकारी अधिकारी बस्ने घरलगायत सम्पूर्ण व्यवस्थित थिए । यो यातायातको साधन नभएको अवस्थामा पैदलमार्ग हुँदै काठमाडाँै प्रवेश गर्ने एकमात्र प्रमुख बाटो पनि थियो । करिब ४०/५० किलोमिटरको क्षेत्रफलमा रहेको चारवटा थुम्को समेटिने गढीको क्षेत्रमा हाल त्यस्ता कुनै पनि भवन छैन । गढीको झल्को दिने बीचको थुम्कोमा तत्कालीन समयमा खानेपानीको जगेडाका लागि खनिएको कुवाको भग्नावशेष छ । त्यसको करिब दुई सय मिटर पश्चिममा एउटा खण्डहर भवन रहेको छ । स्थानीय बासिन्दाले 'आड' भन्ने गरेको अङ्ग्रेज फौज लड्दा प्रयोग गरिएको थुम्कोलाई हालसालै सैनिकहरूले प्रयोग गर्ने किल्लाको झल्को दिनेजस्तो बनाइएको छ । थुम्कोको 'आड' लिएर अङ्ग्रेज फौजसँग युद्ध लडेकाले स्थानीय बासिन्दाले गढीको क्षेत्रफलको सबभन्दा पूर्वमा रहेको गढीको थुम्कोलाई आड भन्ने गरेका छन् । यहाँको युद्धबारे पनि स्थानीयहरूबीच रोचक मिथक रहेको छ । माओवादीका केन्द्रीय सचिवसमेत रहनुभएको स्थानीयवासी सीपी गजुरेलका अनुसार नियमित सेना नरहेको नेपालले तत्कालीन भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनी सरकारको सेनाविरुद्ध लड्न केही भरुवा बन्दुक, ढुङ्गा तथा अरिङ्गाल र सिस्नुको प्रयोग गरेको थियो । कप्तान किनलोकको नेतृत्वमा रहेको अङ्ग्रेज फौजविरुद्धको युद्धबारे यस क्षेत्रमा रोचक जनश्रुति रहेको छ । स्थानीय मुकुन्द गजुरेलका अनुसार स्थायी सेनाको टुकडी निर्माण गरिनसकेको नेपालले त्यसबेला स्थानीय बासिन्दाको सहयोगमा अत्याधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेज फौजलाई सीमित भरुवा बन्दुक तथा ढुङ्गामुढाको भरमा हराएका थिए । गजुरेल भन्नुहुन्छ, "त्यतिबेला यस क्षेत्रमा बाक्लो सिस्नुघारी र थुप्रै अरिङ्गालका गोलाहरू थिए रे । स्थानीय बासिन्दालाई कब्जा गरेर जबरजस्ती बाटो देखाउन लगाउँदै अगाडि बढेको अङ्ग्रेज फौजलाई मुख्य बाटो छाडेर स्थानीयले सिस्नुघारी भएको गोरेटो बाटो लगेछ । नेपालीहरूलाई त सिस्नु थाहा छँदैथियो गोराहरूलाई सिस्नुले पोल्छ भन्ने थाहा थिएन । फलस्वरूप उनीहरूलाई सिस्नुले पोलेर हैरान पार्यो । लखतरान हुँदै थुम्को चढ्न खोजिरहेको अङ्ग्रेज फौज जब अरिङ्गालको गोला भएको क्षेत्रमा आइपुगे, गढीको सुरक्षार्थ पहिले तयार नेपाली सेना र स्थानीय बासिन्दाले ढुङ्गाले हानेर अरिङ्गाल बिच्क्याइदिएछन् । तीनवटासम्म अरिङ्गालले चिले मान्छे मर्छ भन्ने कथन छ । कहिल्यै त्यस्तो नभोगेको अङ्ग्रेज फौजलाई एउटै अरिङ्गालको टोकाइ नै काफी थियो । त्यसैले उनीहरूमध्ये कतिपयको सिस्नु र अरिङ्गालको टोकाइबाट मृत्यु भयो । बाँकीलाई सेना बनेका नेपाली नरनारीले हराए ।" युद्धमा २५ सयको सङ्ख्यामा रहेको अङ्ग्रेज फौजमध्ये करिब १६ सय सेनाको मृत्यु भएको इतिहासकारहरूले उल्लेख गरेका छन् । यो नेपालीहरूले विदेशी सेनाविरुद्ध लडेको अत्यन्त ठूलो युद्ध थियो । तत्कालीन काठमाडौँका राजा जयप्रकाश मल्लको सहयोगमा काठमाडौँ आउन लागेको अङ्ग्रेज फौजलाई बाटैमा आक्रमण गरेर हराएर ठूलो मात्रामा अत्याधुनिक हतियारसमेत कब्जामा पारेपछि पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानलाई अझ सजिलो भएको थियो । विदेशी सेनाविरुद्ध साहसिक युद्ध लडेको यो ऐतिहासिक स्थलमा आयोजित सभामा बोल्दै एकीकृत नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डले देशका अन्य सुविधायुक्त स्थान छाडेर 'सिन्धुलीगढी'मा नै सभा गर्नु 'नयाँ युगको सुरुआत' भएको बताएर आˆना कार्यकर्तामा 'भारतीय हस्तक्षेपविरुद्ध लड्ने' मनोविज्ञान निर्माण खोजे जस्तो देखिन्छ । आइतबारको कार्यक्रममा गढीको ऐतिहासिकताबारे निकै लामो समय खर्च गरे पनि प्रचण्डले यसको संरक्षण र बचावटबारे खासै बोल्नुभएन । |
Thursday, November 29, 2012
संरक्षणको पर्खाइमा सिन्धुलीगढी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment