Thursday, November 29, 2012

सिन्धुलीगढी घुमेर हेरौँ …


यो कर्णप्रिय लोकभाकाले थप परिचित गराएको ऐतिहासिक सिन्धुलीगढी क्षेत्र जान पर्यटकलाई पैदल हिँड्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ। स्थानीय बासिन्दा गाँउ विकास समिति र जिल्ला विकास समिति सिन्धुलीको आर्थिक सहयोगमा कच्ची मोटरबाटो निर्माण गरिएपछि सिन्धुलीगढी क्षेत्रमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको हो। 
सिन्धुलीगढी क्षेत्रमा मोटरबाटो लैजान २०६१ सालदेखि सुरुवात भए पनि भौगोलिक विकटता र कमजोर भू–वनौटले असफ हुँदै आएको थियो तर अहिले राजनीतिक सहमतिका आधारमा ट्रयाक परिवर्तन गरी बाटो खनिएकाले सफल भएको बाटो निर्माण समितिका कोषाध्यक्ष राजनप्रसाद अधिकारीले बताउनुभयो।
उहाँले भन्नुभयो–उक्त बाटोमा रु.४० लाख खर्च भए पनि मोटरबाटोले पूर्णता पाउन सकेको थिएन। अहिले स्थानीय बासिन्दाको सहयोग र जिल्ला विकास समितिबाट प्राप्त रु.१० लाखको लागतमा निर्माणाधीन बीपी राजमार्गको सोलाभञ्ज्याङबाट करिब तीन किलोमिटर कच्ची मोटरबाटो गढी क्षेत्रमा पुर्‍याउन सफल भएका छौँँ।
अहिले एतिहासिक गढी क्षेत्रमा सहजरुपमा यातायातका साधन लिएर जान सकिने भएको छ भने ऐतिहासिक गढी क्षेत्रमा रहेका ऐतिहासिक संरचनाको पुनःनिर्माण सुरु गरिएकाले आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको अधिकारीले बताउनुभयो।
लोक गायक कृष्णविक्रम थापा र गीतमा उल्लेखित सुन्तलीमाई सांसारिक माया जालबाट बिदा भएजस्तै गढी दरबारको पनि संरक्षणको अभावमा भग्नावशेषमा परिणत हँुदै ऐतिहासिक महत्व समाप्त हुँदै गएको थियो। तर अहिले पुरातत्व विभाग र स्थानीय निकायको आर्थिक सहयोगमा अधिकाङ्श भौतिक संरचना पुनःनिर्माण गरिसकिएको सिन्धुलीगढी संरक्षण समितिका ऋषि सिग्देलले जानकारी दिनुभयो।
उहाँका अनुसार–ठूलो तथा सानो पौवागढीको पुनःनिर्माण सकिएको र उक्त परिसरमा रहेको इनार र सानो पौवागढीसम्म जाने उकालो बाटोमा ढुङ्गाको सिँढी निर्माणलगायतको पुनःनिर्माण सकिएको छ।
साथै अहिले पुरातत्व विभागको आर्थिक सहयोगमा गढी क्षेत्रका विभिन्न स्थानमा पिकनिक स्पोर्ट, व्यवस्थित पार्क, खानेपानीको व्यवस्थालगायतको काम सुरु गरिएको समितिले जनाएको छ।
लोकगायक कृष्णबिक्रम थापाको लोकभाका गुन्नगुनाउँदै सिन्धुलीगढी क्षेत्रमा आएका ऐतिहासिक सम्पदालाई माया गर्ने हरेक आन्तरिक पर्यटक गढी दरबारको भग्नावशेषलाई देख्दा आँखा रसाउनुबाहेकको विकल्प थिएन तर अहिले सो अवस्था नरहेको स्थानीय बासिन्दा तथा सिन्धुलीगढी संरक्षण समितिका सचिव खिलराज देवकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले गढी क्षेत्र अवलोकनका लागि सयाँंै आन्तरिक पर्यटकहरु आउने गरेका छन्। यसको पुनःनिर्माण पश्चात् प्रचारप्रसार गर्न सकिएको खण्डमा विदेशी पर्यटकहरु पनि अवलोकनका लागि आर्कषित हुने निश्चित छ।
उहाँका अनुसार– ऐतिहासिक सम्पदामध्ये सानो र ठूलो पौवा गढीलाई पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गरिएको छ तर गढी दरबारको आर्थिक अभावका कारण सकिएको छैन।
वि.स.१८२४ को समयमा नेपाल एकीकरणका बेला कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज सेनासँग लडाई गर्न गोर्खाली सेनाले निर्माण गरेको यी गढी किल्लाहरु पुनःनिर्माण पश्चात पर्यटकीय दृष्टिले गढी क्षेत्र थप आकर्षित भएको छ।
ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दाको आग्रहमा बिपी राजमार्ग निर्माण कार्यमा संलग्न श्रेष्ठ कन्ट्रक्सन कम्पनीको करिब रु.एक लाख ५० हजार आर्थिक सहयोगमा सानो पौवागढीको पुनःनिर्माण गरिएको र महाभारतडाँडाको सबैभन्दा अग्लो स्थानमा रहेको ठूलो पौवागढीको पर्यटन मन्त्रालयको रु.पाँच लाखको सहयोगमा हाल पुनःनिर्माण कार्य भइरहेको छ।
 बन्दुकको नाल छिर्ने गरी बनाइएका पौवा गढीका किल्लाहरुले सिद्धबाबा मन्दिरलगायतका भौतिक संरचनाले ऐतिहासिक क्षेत्रलाई थप महत्व दिएको र एतिहासिक किल्लालाई छोएर बिपी राजमार्ग निर्माण भएकाले सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके विदेशीका लागि पनि आकर्षणको केन्द्र बन्ने स्थानीय बासिन्दाले बताएका छन्।’सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार  मार्‍यो नि मायाले मार्‍यो’

No comments:

Post a Comment